२०८१ श्रावण १२

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी
  • लुम्बिनी खोज
  • २०८० बैशाख २५, सोमबार १७:१९ गते

 बुटबल,२५ बैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

दाङको तुलसीपुरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । ‘सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ,’ उनले भने ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।

लुम्बिनीमा सत्ता गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन/तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । त्यस्तै विपक्षमा एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्य छन् ।