२०८१ श्रावण १२

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ११, बिहीबार ०९:५७ गते

प्रदेशका ५० प्रतिशत उद्योग रुपन्देही नवलपरासीका कोरिडोरमा
बुटवल ११ जेठ ।
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेका छन । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. संगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चूनौतीको विषयमा भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सो तंथ्याक प्रस्तुत गर्दै लुम्बिनी प्रदेश बैदेशिक लगानीको आकर्षक क्षेत्र रहेको बताए ।
वैदेशिक लगानीमा पहिलो रोजाइ सेवा मुलक, उत्पादन मुलक र पर्यटन क्षेत्रमा रहेको छ । कसजुका अनुसार त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८ सय ८२, घरेलु तथा साना उद्योग करिव २५ हजार र करिव १ लाख ५० हजार व्यवसायिक प्रतिष्ठान रहेका छन ।
लुम्बिनी प्रदेशमा दुई औद्योगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र, बाकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन् । यी औद्योगिक क्षेत्रको निमार्ण र सञ्चालनको ढिलाईले उद्योग विस्तार र वैदेशिक लगानीमा तिव्रता आउन नसकेको उनले बताए ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा व्याजदरमा भएको अस्वभाविक बृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. का प्रमुख, आवासिय प्रतिनिधी बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशहरूमा बजार र अवसरहरू सिर्जना गर्न पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सय भन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराए ।
यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवाहरू विद्युत, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरू विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उनले जानकारी गराए । अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।