२०८१ श्रावण १२

रुपन्देही उद्योग संघ र गुल्मी उद्योग संघबीच छलफल
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १२, शुक्रबार १२:२२ गते

रुपन्देहीका उद्योगीद्धारा गुल्मीका धार्मिक क्षेत्रको अवलोकन
बुटवल,१२ जेठ ।
संस्थागत भेटघाट र अवलोकनको उद्देश्यले गुल्मी जिल्ला पुगेको रुपन्देही उद्योग संघको टोलीले गुल्मीका उद्योगी व्यवसायीहरुसँग भेटघाट र छलफल गरेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पोडेलको नेतृत्वमा गएको भ्रमण टोलीले संस्थागत भेटघाट र अनुभवको साटासाट गर्दै गुल्मी जिल्लाका व्यवसायिक संभावनाका बारेमा छलफल गरेको हो । गुल्मी जिल्लामा रहेका कृषि, पर्यटन र वनजन्य विभिन्न श्रोत र साधनहरुको समुचित परिचालन गर्न सकिएमा थु्प्रै संभावनाहरु रहेको छलफलमा सहभागी गुल्मीका उद्योगीहरुले बताएका थिए ।
कार्यक्रममा बोल्दै नवगठित संस्था गुल्मी उद्योग संघका कार्यवाहक अध्यक्ष जनक पन्थले गुल्मी जिल्ला धार्मिक हिसाबले, कृषि, खनिज र वनजन्य हिसाबले प्रचुर सम्भावना रहँदा रहँदै पनि प्राकृतिक श्रोत र साधनको समुचित परिचालन गर्न नसक्दा पछाडि परेको बताए । रुपन्देहीका उद्योगीहरुलाई गुल्मीमा लगानी गर्न आग्रह गर्दै उनले गुल्मी उद्योग संघले विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी श्रोतको समुचित परिचालन गर्न सहकार्य गर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधबप्रसाद पौडेलले गुल्मी उद्योग संघ गठन भएकोमा खुशी व्यक्त गर्दै जिल्लाका उद्योगीहरुको साझा संस्था बनेर औद्योगिक विकासका लागि निरन्तर लागि पर्न शुभकामना दिए । उनले संस्थागत विकासका निम्ति रुपन्देही उद्योग संघले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । साथै गुल्मी जिल्लाका सम्भावनाहरुलाई रुपन्देहीसँग जोडेर लैजानका लागि आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिदै उनले रुपन्देहीका उद्योगीहरुलाई गुल्मीमा लगानी गर्ने वातावरण श्रृजना गर्न र स्वरोजगार अभिबृद्धिमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेज कुमार पाठकले संस्थागत पृष्ठभूमी विगतका अनुभव र भोगाईका बारेमा चर्चा गरेका थिए । गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालको संचालनमा सम्पन्न कार्यक्रममा गुल्मी उद्योग संघका सल्लाहकार हरि कुमार श्रेष्ठ, जनार्दन घिमिरे लगायतले उद्योग क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीका अनुसार संस्थागत भेटघाटसँगै संघको टोलीले धार्मिक स्थल रेसुङ्गाको समेत अवलोकन गर्दै त्यस क्षेत्रका ऐतिहासिक पृष्ठभूमी र धार्मिक महत्वको बारेमा अध्ययन समेत गरेको थियो । साथै सोही अवसरमा रुपन्देही उद्योग संघले रेसुङ्गा संरक्षण समितिको आजिवन सदस्यता लिएको छ । सोही क्रममा संघको भ्रमण टोलीलाई रुरु क्षेत्र गाउँपालिका वडा नं १ ले रिडी क्षेत्रका व्यवसायी, समाजसेवी, राजनीतिज्ञहरु अग्रज व्यक्तित्वहरुको सहभागितामा रिडी क्षेत्रको संरक्षण प्रचार र विकासका सन्दर्भमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नं.१ का अध्यक्ष नवराज वि.क.ले रिडी बजारलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उद्योगी व्यवसायीहरुले विशेष चासो र लगानी गर्नुपर्नेमा जोड दिदै रुपन्देही उद्योग संघसँग सहयोगको अपेक्षा गरेको बताए । संघका अध्यक्ष माधब प्रसाद पौडेलले आगामी दिनहरुमा रिडी जस्तो पवित्र, ऐतिहासिक र धार्मिक क्षेत्रको विकासको निम्ति आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरु एवं प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको कार्यक्रमको संयोजन संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले गरेका थिए ।