२०८२ कार्तिक २६

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १६, मंगलवार १७:२१ गते
नेपाल एयरलाइन्समार्फत बुधबार साढे १ बजे दिल्ली उड्ने कार्यक्रम तय
   काठमाडौ,१६ जेठ ।
 परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। भ्रमण तालिका, एजेन्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागेको उनले जानकारी दिए। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने बताए।प्रधानमन्त्रीको भारत भ्रमण चुस्त दुरुस्त बनाउन कुनै कसर नराखिएको नेपाली दूतावासको भनाइ छ । दूतावासका अनुसार बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।

प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुने नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्माले जानकारी दिए । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशसचिव एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यस्तै दूतावासले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । यस्तै त्यहाँ सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ ।

ऊर्जा व्यापार प्राथमिकतामा

प्रधानमन्त्रीको यस पटकको भारत भ्रमण ऊर्जा  व्यापारका विषयमा केन्द्रित हुने भएको छ । सँगसँगै सीमा सुरक्षा र अन्तरदेशीय व्यापारका विषय पनि उठाइने छ ।

जसअनुसार तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) सरकारले लगानी बोर्डमार्फत गरिसकेको छ ।  सोही निर्णयअनुसार प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने सम्झौतालाई कार्यान्वयन गर्नेछन् ।