२०८१ श्रावण १२

आगामी पाँच दिनसम्म तापक्रम उच्च रहने मौसम पूर्वानुमान महाशाखाको चेतावनी
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १९, शुक्रबार १६:३४ गते

बुटवल,१९ जेठ ।

तराईमा लु (तातो) हावा चल्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम र न्यूनतम  तापक्रम औसतभन्दा बढी हुँदा मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लु चलिरहेको छ।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा पछिल्लो पाँच दिनदेखि अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ। ‘काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भूभागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ,’ महाशाखाले भनेको छ।

काठमाण्डौ उपत्यकासहितका ठाउँको तापक्रम क्रमिक वृद्धि भइरहेको तथा मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी भएकाे महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उहाँको भनाइ छ । काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ । ‘लु’ तथा गर्मीको समस्याबाट बच्न याे समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।