२०८१ श्रावण १२

पहिलो पटक मलेसियाबाट भैरहवामा नेपाल एयरलाइन्सको व्यावसायिक उडान
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३०, मंगलवार ०८:१४ गते
बुटवल, ३० जेठ ।

एकवर्ष पहिले काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आजबाट मलेसिया- भैरहवा उडान गरेकाे छ ।

मंगलबार बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको हो ।

मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको जनाइएको छ । भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र राज्यमन्त्री सुशीला शिर्पालीले विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइनसको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटनमन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए । उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए। ‘बुद्व सर्किटकै बजारीकणका लागि यो विमानस्थल निर्माण भएको हो। भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ’, उनले भने, ‘यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ।’

मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए। उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए।
मन्त्री किरातीले प्रधानमन्त्री दाहालको हालैसम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐेतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले लुम्बिनी प्रदेशको पहिचान, धरोहर, बुद्वलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विमानस्थल निर्माण भएकाले यसको नियमित व्यावसायिक सञ्चालनमा सरकारको जोड रहेको बताए।
उनले विमानस्थत नियमित सञ्चालन नहुँदा धेरै तर्फबाट प्रश्न उठेको बताउँदै सञ्चालन निरन्तरता हुन नसक्नुमा राजनीतिक अस्थिरतापनि मुख्य रहेको बताए।

कार्यक्रममा पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं ३ का संघीय सांसद दीपक बोहोराले राष्ट्रिय ध्वजावाहक जहाजले व्यावसायिक उडान सुरु गर्दा गौतमबुद्ध विमानस्थलको प्रभावकारी सञ्चालन हुनेमा आशा पलाएको बताए ।
२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए। तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले गरेको छ।

जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसियाको चार्टर उडान गरे पनि हाल यी दुवै कम्पनीका जहाजले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिन सकेका छैनन्।