२०८१ श्रावण १२

यसरी बढायो योगले मनोबल
  • लुम्बिनी खोज
  • २०८० श्रावण २०, शनिबार १३:१६ गते

बिष्णु हरि आचार्य
केही बर्ष यता बिश्व कोभिड १९ ले आक्रान्त छ। कोभिडले मानव स्वास्थ्यमा मात्र असर गरेन यसले विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव पारेको छ । कोभिडले पारेको समस्याबाट हाम्रो देश र हामी पनि अछुतो रहन सकेनौं। कोरोना महामारी सुरु भएपछि मानिसमा कोरोना भाइरसले गर्ने क्षतीभन्दा मनोत्रास जन्य डरले सतायो। जसले गर्दा आम नागरिकमा मनोवल घट्दै गयो। मनोवल घट्दै जादा आत्मवल कमजोर हुने र रोगले बढी सताउने जस्ता कारणहरु सिर्जना भए। भाइरसको सक्रमणसँगै मनमा उब्जिएका अनेक खाले शंका उपशंकाले अनिद्रा, अरुचि, उच्च रक्तचाप, स्वाशप्रश्वास जन्य समस्याहरु आए। शरीर भित्र अक्सिजनको सन्तुलन विग्रिने जस्ता शारीरिक तथा मानसिक समस्याका कारण थुप्रै मानिसहरुले दुःखद मृत्युवरण भोग्नुपरेको हामी सबैले देख्यौं। नागरिकमा आएका मनोत्रास जन्य कारणहरुलाई केही मात्रमा भएपनि हटाउने उद्देश्यले संघीय सरकार, स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र लुम्विनी प्रदेश सरकारले एउटा निर्देशिका जारी गर्यो र भन्यो, –जनस्वास्थ्य मापदण्ड पालना गर्दै स्थानिय सरकार र प्रदेश सरकारले व्यवस्थापन गरेका आइसोलेसनहरुमा प्रयोगात्मक योग अभ्यास गराउ।

सरकारको निर्देशिकालाई अक्षरस पालना गर्दै कोरोना संक्रमित आम नागरिक बसेका आइसोलेसनमा हामी पुग्यौं। सुरुका केही दिनहरु असहज भएपनि नियमित योग अभ्यासले एक किसिमको उर्जा थपियो। मनको डर कम भयो। मनोवल तथा आत्मवल बढाउन योग अभ्यासले राम्रो भुमिका खेलेको सहभागिहरुले उजागार गरे। जसले पनि योगको महत्व लाई बढाएको अनुभुति गरियो। साथै शरीर भित्र असन्तुलन भएको अक्सिजनलाई सन्तुलनमा ल्याउन पनि नियमित योग अभ्यासले महत्वपूर्ण भुमिका खेलेको अनुभव हामी सबैका लागि नयाँ शिक्षा नै थियो।

कोरोना महामारी मात्रै हैन अहिले विश्वमा बढ्दो शहरीकरणका साथै अव्यवस्थीत जीवन शैलीले दिनप्रतिदिन नयाँ नयाँ रोगहरु उत्पन्न भएका छन। ती नयाँ नयाँ रोगको भय एकातीर छ भने अर्को तर्फ नसर्ने रोगहरु पनि बढ्दै छन। अहिलेको मृत्यु तंथ्याकलाई अध्ययन गर्दा करिव दुइ तिहाइ मानिसको मृत्यु नसर्ने रोगबाट भएको पाइन्छ। नसर्ने रोगहरु –उच्च रक्तचापका कारण सिर्जना हुने मुटुजन्य समस्या, मधुमेह, स्वाशप्रसश्वास जन्य रोग र क्यान्सर जीवनशैली जन्य रोगहरु हुन। जीवनशैली व्यवस्थापन गर्न सकियो भने यी रोगबाट बच्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगका मुख्य ४ कारण छन।
क) चुरोट एवंम सुर्तीजन्य पदार्थको सेवन
ख) मध्यपान
ग) अस्वस्थ्यकर खाना
घ)शारीरीक निष्कृयता तथा मानसिक तनाव
यी माथि उल्लेखित ४ कारणहरुको ब्यवस्थापनमा योगले खेल्ने भुमिकाहरु निम्न अनुसार चर्चा गर्न सकिन्छ।

नियमित योग अभ्यासले धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनको चाहाना कम गर्छ। साथै धुम्रपान र मध्यपान सेवनबाट उत्पन्न हुने दुस्प्रभाव कम गरी कुलतबाट छुटकरा दिलाउछ। नियमित योग अभ्यास जन्य जीवन शैलीले सात्विक र सन्तुलित तथा स्वस्थकर आहारमा केन्द्रीकृत बनाउँछ। नियमित योग अभ्यासले शारीरीक निष्कृयता जन्य ४० प्रतिशत रोगहरुलाई न्यूनिकरण गर्दछ।

योगले सिरोटोनिन गावा जस्ता स्नायु प्रणाली सँग सम्वन्धित रसायन बढाइ, मानसिक तनाव कम गर्न मद्दत गर्दछ।
नियमित योग अभ्यासले आनन्दमा आधारित जीव शैली परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्दछ ।
नियमित योग अभ्यासले रगतमा भएको बोसोजन्य खराव चिजको मात्र कम गरी रक्तनलीहरुलाई सक्रिय राख्दछ। यसबाट हृदयघात, मस्तिष्कघात तथा मुटुजन्य समस्याहरु न्यूनीकरण गर्न सकिन्छ। योगले मुटुका नली साघुरिएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा गर्दछ। जुन कुरा अमेरिकी चिकित्सक डिन अर्नेसले रिसर्जद्धारा प्रमाणित गरेका छन।
योगले स्वतन्त्र नाडी संस्थान अन्तर्गत सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा मानसिक तनाव कम गर्न भुमिका खेल्दछ। योगले भेगस नर्भको गतिविधि बढाइ, मुटु र स्वासको गति कम गरी तनाव जन्य डर त्रासहरु नियन्त्रण गर्दछ।
नियमित योग अभ्यासले हाम्रो शरीर भित्र निष्कृय भएका कोषहरुलाई सक्रिय बनाउनुको साथै नया कोषहरु निर्माणमा समेत महत्वपूर्ण भुमिका खेल्दछ। जसले क्यान्सर जस्ता रोगहरु सग लड्ने उर्जा प्राप्त हुन्छ।

योगले इन्सुलिन निर्माण गर्नुका साथै इन्सुलिन अवरोधलाई कम गरी रगतमा चिनीको मात्र कम गर्दछ। जसबाट मधुमेह रोग न्यूनिकरण गर्न मद्दत मिल्छ।

योगले मुडडिसअडर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिका दुस्प्रभाव कम गर्दछ। योगले मस्तिष्कको भावनात्मक केन्द्र लिम्विक कर्टेक्सलाई प्रभाव पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहजता ल्याउँछ।

नियमित योग अभ्यासले अचानक आइ पर्ने महामारी, दुःख, पीडा, अनुकुलता, प्रतिकुलता, जीतहार जस्ता भावनात्मक आवेगमा संयमित राख्दै उच्च मनोवल राख्न महत्वपूर्ण भुमिका खेल्दछ। योग चिकित्सा मानव स्वस्थ्का लागि अत्यन्तै महत्वपूर्ण छ। योगको महत्वलाई सबैले आत्मसाथ गरेमा जीवन सुखी र खुशी बनाउँन सकिन्छ। यस तर्फ सबैको ध्यान जानु अहिलेको आवश्यकता हो।

(लेखकः आयुर्वेद स्वास्थ केन्द्र रुकुम पुर्वका कार्यलय प्रमुख तथा योग अभियान्ता हुन)