२०८१ श्रावण १२

तिलोत्तमामा एक लाखले लगाए कोरोना विरुद्धको खोप
  • लुम्बिनी खोज
  • २०७८ पुष २८, बुधबार ०९:४६ गते

बुटवल, २८ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान गरिएकोमा पूरा डोज खोप लगाएको जनसंख्या ८७ हजारभन्दा बढी पुगेको छ ।
बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसंख्या १ लाख २३ हजार ८ सय ३६ छ । यहाँ १२ वर्षभन्दा माथिको जनसंख्या झण्डै ९९ हजार रहेको अनुमान छ ।
स्वास्थ्य शाखाका अनुसार कोभिशिल्ड÷एक्सट्राजेनिक खोपको दुवै मात्र ८ हजार ९ सय ६० जना, जोनसोन खोप ७ हजार ६ सय १० जनाले लगाएका छन् । यस्तै भेरोसेलको दुवै डोज लगाउने संख्या ७० हजार ८ सय ९३ रहेको छ । १२ वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडोर्ना खोपको पहिलो मात्रा झण्डै १० हजार जनाले लगाएका छन् भने यो खोप लगाउने क्रम जारी छ । रोजगारी वा अध्ययनको लागि तेस्रो मुलुक जानेहरुको लागि वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोना विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले खोप लगाउन छुटेका लक्षित समूहका नगरबासीलाई मणिग्राम स्थित वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् । कोरोना भाइरसले खोप लगाएका भन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकोले खोपलाई विशेष महत्व दिने गरिएको छ ।
नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन, घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ ।