२०८१ श्रावण १२

बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार १०:२६ गते

बुटवल,२६ भदौ ।
बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।
मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताए ।
उनका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उनले बताए ।
खेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौं उनले भने।
चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र विद्यालयस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको उनले बताए ।
यस्तै खेलकुद मैदान स्तरोन्नति, खेलकुद प्रशिक्षक, खेल शिक्षकलाई तालिम, खेलाडी र प्रशिक्षक सम्मान जस्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले बताए ।
उनले छिटै नै वार्षिक रुपमा आयोजना हुने खेलकुदहरुको खेलतालिका तयार गरेर सोहीअनुसार आयोजना गर्ने र गर्नका लागि अनुरोध गरिने बताए ।
खेलकुद विकास समितिका सदस्य सचिव तथा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि खेल पत्रकार, खेलकुद क्लब तथा संस्थाहरु, विद्यालयहरुसँग छलफल तथा अन्तरक्रिया गरिने बताए ।