२०८१ माघ ३
बुटवल ११ असोज ।
मुटु रोगबाट बच्न खानपान देखि शारीरिक अभ्यासमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवस–२०२३ को अवसरमा गरेको अन्तक्र्रियामा स्वास्थ्यप्रति बढी सचेत हुनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले सबै उमेर समूहकालाई मुटुरोग देखिने भएकाले सचेत हुनुपर्ने बताए । उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नुपर्ने भन्दै उनले मोटोपन घटाउनुपर्ने, तनावमुक्त जीवन यापन गर्नुपर्ने तथा धुम्रपान, मद्यपानबाट टाढा रहेमा मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने धारणा राखे ।
नेपालमा पनि युवा अवस्थामै मुटु रोग देखा पर्नेक्रम बढेकाले यसबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ३० मिनेटदेखि १ घण्टासम्म हिँडडुल गर्ने, हरियो सागपात, फलफुल खाने, धुवाँधुलोबाट जोगिन र धूमपान, मद्यपान प्रयोग नगर्न उनले सल्लाह पनि दिए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले २०७० सालमा स्थापना भएको अस्पतालले धेरैलाई सेवा दिन सफल भएको बताए । आगामी दिनमा अस्पतालको सेवालाई थप बिस्तार गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता उनले जनाए । सामुदायिक अस्पताल भएकाले नाफा कमाउने भन्दापनि बिरामीलाई सहज र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेको उनले बताए । प्रदेशमा सबैभन्दा धेरै मृगौलाका बिरामीहरुले मुटु अस्पतालमै डायलाइसिस गर्ने गरेको बताउँदै ४७० जनाले डायलाइसिस गराइरहेको अध्यक्ष आलमले जानकारी दिए । अस्पतालको विकासका लागि सबैको साथ र सहयोग आबश्यक पर्ने उनले बताए ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले मुटु अस्पताललाई थप व्यवस्थीत गरि सञ्चालन गर्नका लागि प्रदेश सरकारले आबश्यक सहयोग गर्ने धारणा राखे । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुटु असपताललाई विशेष महत्व दिएर अगाडी बढाउनुपर्ने धारणा राखे ।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेललगायतले स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा मुटु अस्पतालमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतम, डा. राजेशकुमार पन्जीयार, डा.अभिषेक शाक्य, डा.मजार खान, डा.सचिन ढुंगेल र डा.विशाल केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुटु अस्पतालमा उपचार गराएर निको भइसकेका बिरामीहरुले अस्पतालको सेवा र आ–आफ्नो स्वास्थ्यबारे भनाई राखेका थिए ।