२०८१ श्रावण १२

बुटवल उवासंघले भन्योः बुटवलको सडक विस्ताको काममा ढिलासुस्ती गर्न भएन
  • लुम्बिनी खोज
  • २०७८ माघ २०, बिहीबार १६:२८ गते

बुटवल, २० माघ । बुटवलमा राष्ट्रिय राजमार्गको सडक विस्तारको काममा ढिलासुस्ती भएको भन्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देही सडक डिभिजन कार्यालय बुटवलमा डेलिगेसन गएको छ ।

डेलिगेसनमा बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई हुँदा त्यस आसपासका व्यापार व्यवसाय प्रभावित भएको भन्दै सडक विस्तारको काममा गतिदिन आग्रह गरिएको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीलाई भेटेर सडक विस्तारको काममा विलम्ब हुँदा त्यस सडक आसपासका व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै सडक विस्तारको कामलाई तिव्रगतिमा अगाडि बढाउनको लागि ठेक्केदारलाई दवाव दिन आग्रह गरेको हो । सडक विस्तारको जिम्मा पाएको ठेक्केदार कम्पनीले ४÷५ महिना वितिसक्दा पनि जुन गतिमा काम गर्नुपर्ने त्यो नहुँदा एकातिर अस्तव्यस्त सडकका कारण व्यापारी व्यवसायी मारमा परेका छन् भने अर्कोतिर समयमा काम नसकिने समस्या उत्तिकै छ । जसको मार व्यवसायीलाई नै पर्ने निश्चित छ–संघका अध्यक्ष कसजूले भने । लामो समय सडक अस्तव्यस्त हुँदा सवारी साधन सञ्चालनमा पनि समस्या भएको छ भने धुलो तथा हिलोको समस्या त्यो भन्दा बढी छ । त्यस्तै सडक पेटीमा पैदल यात्रा गर्नेहरुलाई पनि उत्तिकै समस्या छ ।