२०८१ श्रावण १२

लुम्बिनीमा निशुल्क स्वास्थ्य शिविर, करिव ४ हजारले लिए लाभ
  • लुम्बिनी खोज
  • २०८० मंसिर २३, शनिबार १४:१८ गते

 

लुम्बिनी, २३ मंसिर ।
बुद्धजन्मस्थल लुम्बिनीमा भएको निशुल्क आँखा शिविरबाट ३ हजार ७५५ जना सर्वसाधरणले लाभ लिएका छन् । राजकिय थाई विहार लुम्बिनीको आयोजनामा थाईल्याण्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितीमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलबस्तु र रामग्रामका स्थनीयहरुले लाभ लिएका हुन् ।
मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतिया विन्दुका विरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।

विहारका प्रमुख भिक्षु सुफोतले बुद्धजन्मस्थल वरपरका मानिसहरुलाई सेवा दिने उदेश्यले १४ औं संस्करणका रुपमा निशुल्क आँखा शिविर गरिएको बताए । तिलगंगा आखाँ अस्पताल काठमाडौंका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोईत, थाईल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डा. स्वात कौशाकुल, सहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविरको उपचारमा खटिएका हुन ।

थाइल्याण्डका राजा भूमिबोल अदुलयादेजको स्मृतीमा निशुल्क आँखा शिविर गरिएको हो । राजकिय थाई विहार लुम्बिनी, तिलगंगा आँखा अस्पताल काठमाडौं, थाई राजदुतावास काठमाडौंको समेतको आयोजनामा बुद्धजन्मस्थलमा निशुल्क आँखा शिविर गरिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीमा विगतदेखि नै तिलगंगा आखाँ अस्पतालले राजकीय थाई विहार लुम्बिनीसँग समन्वय र सहकार्य गर्दै आखाँ शिविर गर्दै आएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए । उनले बुद्धजन्मस्थल वरपरका सर्वसाधरणहरु स्वास्थ्य पहुँचबाट टाढा रहेकाले निशुल्क आँखा शिविर गर्ने गरिएको बताए । सर्वसाधरणमा आँखाका सम्बन्धमा हेलचेक्र्याईँ र आर्थिक अवस्था समेत कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोतले बताए । विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दै आएको छ । यसअघि विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्प प्रभावितहरुलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
४४० सय जनाको निशुल्क दन्त उपचार
यस्तै राजकीय थाई विहार लुम्बिनीकै आयोजनामा निशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ ।
१८ गतेदेखि २२ गतेसम्मका लागि आयोजित दन्तशिविरमा ४४० जनाले निशुल्क उपचार गराएका छन् ।

यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, थाई राजदुतावास काठमडौं र लुम्बिनी स्वर्णभूमि फाउण्डेशनसँगको सहकार्यमा दन्त शिविर गरिएको हो । निशुल्क दन्त शिविरमा दाँतको सफाई र उपचारहरु गरिएको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका डा. सुभास कुमारले जानकारी दिए ।
थाइल्याण्डका दन्तरोग बिशेषज्ञ डा. मोन्थन नेतृत्वको ४ स्वास्थ्यर्की र मेडिकल कलेजका डा. दीपक यादव, डा. उपासना त्यागी र सुबोध कुमार सहित १० जना स्वास्थ्यकर्मीहरु दन्तशिविरमा खटिएका थिए ।