२०८१ श्रावण १२

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवा थप व्यवस्थित
  • लुम्बिनी खोज
  • २०८० मंसिर २५, सोमबार ०९:३४ गते

बुटवल २५ मंसिर ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूती सेवालाई थप व्यवस्थित गरेको छ । अस्पतालमा प्रसूती तथा बालबालिकाको उपचारका लागि छुट्टै ल्याव नमूना संकलन केन्द्र स्थापना गरी सेवालाई व्यवस्थित गरेको हो ।
संकलन केन्द्रको सोमबार उद्घाटन गर्दै अस्पतालका महिला तथा प्रसूती रोग विशेषज्ञ डा. भक्तबत्सल रावतले सेवा ब्यवस्थीत सगै सेवाग्राहीलाई सेवा सहज र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे । दैनिक २ सय भन्दा पनि बढी प्रसूती सेवाका लागि आउने गरेको बताउँदै उनले विगतमा एउटै काउन्टर र नमूना संकलन केन्द्र हुँदा हुने भिड व्यवस्थापन हुनुका साथै झन्झट कम हुने विश्वास व्यक्त गरे । घण्टौं लाइनमा बस्नुपर्ने अवस्था अन्त्यका लागि विशेषज्ञ सेवा अनुसार फरक–फरक काउन्टर र नमूना संकलन केन्द्र स्थापना गर्ने योजना अनुसार अघि बढ्दै सेवालाई गुणस्तरीय बनाउने योजनामा रहेको उनले बताए ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका साथै अस्पतालको सरसफाई, सेवाग्राही मैत्री परामर्श व्यवस्थित सेवाका लागि आफूहरुले काम गरिरहेको उल्लेख गरे । पछिल्लो समय अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गर्दै सो अनुसारको भौतिक संरचना नहुँदा केही समस्या भएको गुनासो गरे । उनले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय सेवाका लागि प्रयास जारी रहेको उल्लेख गरे ।
अस्पतालमा गत वर्ष १२ हजार २ सय ७५ को स्वस्थ्य सुत्केरी सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा ४ हजार ४ सय ८२ गभर्वती शल्यक्रियाबाट सुत्केरी भएको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिए । अस्पतालमा सुरक्षित र गुणस्तरीय प्रसूती सेवा भएका कारण अन्य अस्पतालमा नियमित फलोअपमा जाने गर्भवती महिलाहरु समेत अन्तिममा लुम्बिनी प्रादेशिकमै आउने गरेको उनी बताउँछन् । सेवाग्राहीको चाप अनुसार प्रयाप्त जनशक्ति, भौतिक संरचना, बेड, आईसियू, सिसियू लगायतको अभावले अपेक्षित सेवा प्रदान गर्न नसकिएको उनले गुनासो गरे । गुरुयोजना अनुसार अस्पतालको बिकास हुन सकेमा मुलुककै नमूना अस्पतालको रुपमा स्थापित गर्न सकिने उनले दाबी गरे ।
अस्पतालका बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेलले प्रसूती तथा बालबालिकाहरुहरुको ल्याव नमूना संकलन केन्द्रको स्थापनासँगै सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि हुने उल्लेख गरे । कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो ।
अस्पतालले सेवालाई सहज बनाउनका लागि केही समयअघि मधुवेह रोगको ल्याव परीक्षणका लागि समेत छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरमा मधुमेहका बिरामीले विहान ७ बजेदेखिनै सेवा लिन मिल्ने व्यवस्था रहेको छ । अस्पतालमा प्रसूती सेवासहित अन्य विभिन्न उपचारका लागि पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ जनाले बहिरंग स्वास्थ्य सेवा लिएका थिए । यसैगरी आकस्मिक कक्षतर्फ ६७ हजार ५६१ जनाले सेवा लिएका थिए ।