७ बैशाख २०८१, शुक्रबार

निपनिया क्षेत्रको प्राचिन इनारको उद्धार उत्खनन, कोषले सग्रालयमा राख्ने
  • लुम्बिनी खोज
  • १३ पुष २०८०, शुक्रबार १४:३४

लुम्बिनी, १३ पुस
बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) शुरु भएको छ ।
लुम्बिनी विकास कोषले रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा न. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा बर्षौदेखि बाढीसँगै बगिरहेको बौद्धकालिन सम्पदा अन्तर्गत प्राचिन इनारको उद्धार उत्खनन गरी संरक्षणका लागि उत्खनन शुरु गरेको हो ।
कोषले पुरातत्व विभागसँग सहकार्य गरेर पुस ८ गतेदेखि आकस्मिक उद्धार उत्खनन गरिरहेको छ । प्रत्येक वर्ष दानव नदीमा आउने बाढीले बुद्धकालिन इनारहरु धेरै बगिसकेको र त्यसमध्येको एउटा इनारलाई उद्धार उत्खनन गरेर संरक्षण गर्न थालिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले गत वर्ष पनि कोषका तर्फबाट निपनिया क्षेत्रमा स्थलगत निरीक्षण गर्दा थुप्रै संरचनाहरु भेटिएको तर प्रत्येक वर्ष बाढीसँगै बगेर नष्ट भएकाले कोषका तर्फबाट लगानी गरेर संरक्षण गर्न थालिएको बताए । ‘धेरै इनारहरु बगिसके, त्यसमध्येको बचेको बौद्धकालिन एउटा इनार आउने पुस्तालाई जानकारी गराने उदेश्यले संरक्षणका लागि उद्धार उत्खनन गरिएको हो’ सदस्य सचिव शाक्यले भने । उनले उद्धार उत्खननपछि इनारलाई लुम्बिनीको संग्रालयमा राखिने छ ।
लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरेपनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएको र इनारको संरक्षणकै लागि उद्धार उत्खनन गरिएको कोषका पुरातत्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले बताए । निपनियामा बर्षेनी पुरातात्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरु बग्दै गएकाले यसको संरक्षणका लागि कोषका तर्फबाट यो वर्ष आकस्मिक उत्खनन गरिएको बताए ।
नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरि संग्रालयमा सुरक्षित गर्ने गरी उत्खनन भइरहेको बताए । उत्खननका क्रममा प्राचिन समयमा प्रयोग भएका माटोका टुक्राहरु, रेड वेयरहरु, एनविपि, हजार बर्ष पुराना माटाका भाडाहरु प्रशस्त मात्रामा भेटिएको छ । उनले अहिले अनुसन्धान अन्वेषणका लागि भन्दा पनि नदीको किनारमा रहेको इनार संरक्षण गर्ने गरी छोटो अवधीको उद्धार उत्खनन गरिएको बताए ।
पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धीष्ट साईटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रुपमा व्याख्या गरेको पाईन्छ ।
भारतका प्रख्यात पुरातात्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए ।
विकास कोषका पुरातत्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीको संयोजकत्वमा शुरु भएको उत्खननमा कोषका नवराज अधिकारी, अख्तर हुस्सैन मुसलमान, पुरातत्व विभागका अधिकृत हरि भुसाल, चन्द्र प्रकाश पाठक, शुभेच्छा पोख्रेल र निशा पन्थी खटिएका छन । उत्खननको कोषका सदस्य सचिव सानुराजा शाक्यले शुक्रबार निरीक्षण समेत गरेका छन् ।