२०८१ श्रावण १२

लुम्बिनी एक्स्पोमा दुई दिनमा ३ लाख दर्शक
  • लुम्बिनी खोज
  • २०८० पुष १५, आईतवार १२:०५ गते

मेला स्थलमा बृद्धबृद्धालाई सम्मान
बुटवल, १५ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए ।
मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिव ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक विदा परेका कारण मेला हेर्न स्कूलमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावहरु तथा कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुसंगै आम दर्शकहरु अत्याधिक आएको थिए ।
प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो ।
मेलामा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शकहरुको लगातारको आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव भएपछि प्रवेशको क्रममा दर्शक रोकेर व्यवस्थापन गर्नु परेको मेला प्रवन्धक सरोज पोृखरेलले बताए ।
हिजो शनिवार पनि मेला अवलोकन गर्न ठूलो संख्यामा दर्शकहरु पुगेका थिए । प्रदर्शनी स्थलमा दर्शकहरु टिकट काटेर अवलोकन गर्न विहानैबाट प्रवेश गर्न थालेका थिए । सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपछि व्यवस्थापनमा केहि समस्या परेको थियो । प्रर्दशनी स्थल भित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बाल उद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव भएको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए ।
मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार र आइतवार सार्वजनिक विदाका दिन मेला अवलोकन गर्न करिव ३ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट विहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट विक्री गरिएको मेला सहसंयोजक दिपक अधिकारीले बताए । दर्शकहरुको भिड बढेपछि टिकट विक्रिको व्यवस्थापन र कुनै दुर्घटना नहोस् भनेर आयोजक मुल समितिका सदस्यहरु सबै जना खटिएका थिए ।
आइतवार दर्शकहरुको उपस्थिति हालसम्मको सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ । आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले दर्शकहरुको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर काम गर्नु पर्ने कुरा सिकाएको बताए । मण्डपको क्षमता भन्दा बढी दर्शहहरुको घुइँचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निकाल्नका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । उता स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो ।
मेला स्थलमा बृद्धबृद्धालाई सम्मान

मेला सञ्चालन भैरहेको अवस्थामा रुपन्देही व्यापार संघले आइतवार मेला स्थलमा विभिन्न क्षेत्रका ३० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । मेलामा एक कार्यक्रम गरी रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० बृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
बृद्धबृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोति प्रसाद पाण्डे, पदम प्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरे ।
त्यस अवसरमा बोल्दै संघ अध्यक्ष घिमिरेले समाजमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने हेतुले उक्त कार्यक्रम राखेको उल्लेख गर्दै पछिल्लो समयमा बृद्धबृद्धाहरुलाई हेला गर्ने जुन परिपाटि बढेको छ त्यसले समाजलाई सहि बाटोमा नलैजाने बताए । त्यस अवसरमा अध्यक्ष घिमिरेले बृद्धबृद्धाहरुको संरक्षणमा संघले आर्थिक सहयोग गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारीले बृद्धअवस्था हुनु कुनै पाप नभएर प्राकृतिक नियम भएको बताउदै घर, सामाज र राष्ट्रले बृद्धबृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने धारणा राखे ।
सास्कृतिक कार्यक्रम
मेलाको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु कतिपय सकिएका छन् भने कतिपयको छनौट चरण अन्तिममा पुगेका छन् । राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिताको फाइनल आइतवार भएको छ भने शनिवारबाट भजन प्रतियोगिता सकिएको छ । भजन प्रतियोगितामा लुम्बिनी प्रदेशका १६ समूहले प्रतिष्पर्धा गरेका थिए ।
यता डान्स आइडल–२०८० प्रतियोगिता अन्तरगत अन्तिम टप ४ गायकको प्रस्तुती आइतवार भएको छ । शनिवार प्रतियोगितामा टिवंकल श्रेष्ठ, सतिष सेञ्चुरी, आरोहि काउचा, निसिंम झेडि र आकृति परियार टप ५ सम्म पुगेका प्रतियोगिले आफ्नो प्रस्तुती राखेकोमा आइतवार एक जना छनौटबाट बाहिरिएका छन् । भोटिङका आधारमा छनौट हुने प्रतियोगितामा अब टप ४ का प्रतियोगिहरुको प्रस्तुति आइतवार राखेका छन् । प्रतियोगिताको फाइनल भिडन्त पुष १८ गते हुनेछ ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार लोकदोहोरी गायक खुमन अधिकारी, बैकुण्ठ महत, नारायण विसी, लोकदोहोरी गायिका रुपा घर्तिमगर, लालमाया थापा र कोपिला न्यौपानेले दर्शक नचाएका थिए । कार्यक्रम सञ्चालनतर्फ आइडल उद्घोषक गोपाल अधिकारी र उद्घोषक आविस्कार खनाल रहेका थिए ।