२०८१ श्रावण १२

लुम्बिनी प्रादेशिक अस्पातालमा बाटिकाको शिलान्यास
  • लुम्बिनी खोज
  • २०८० माघ २, मंगलवार ०९:०५ गते

बुटवल २ माघ ।
नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिए ।
नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा ईटा भएपनि थप्न सकियोस भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा बिरामीको उपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको बताए ।
नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेकले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिनुपर्ने बताए ।
करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका (पार्क) करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी गराए ।