२०८१ श्रावण १२

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार सेवा थप
  • लुम्बिनी खोज
  • २०८० माघ २५, बिहीबार १२:३७ गते

बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु

बुटवल २५ माघ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ ।  परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गर्न शुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए ।
सेवा विस्तारका क्रममा बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्दै मन्त्रालयले प्रादेशिक अस्पतालको सेवा विस्तार र गुणस्तरीय बनाउन लागि परेको बताए । उनले अस्पतालमा सेवा सहज बनाउन बिरामीको आत्मवल बढाउन तथा विश्वास बढाउने गरी सेवा दिन स्वास्थ्यकर्मीहरु लागि पर्नुपर्नेमा जोड पनि दिए । स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाप्रति विश्वास बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न  अड्चन हटेको बताउँदै अब कामले गति लिने बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास पनि उनले व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार संगै गुणस्तरीय सेवा दिनु पर्ने बताए । उनले सरकारले आबश्यक स्वास्थ्यकर्मी तथा बजेटको लागी मन्त्रालयले सक्दो सहयोग गरिरहेको भन्दै गुनासो नआउने गरी सेवा दिनुपर्ने धारणा पनि राखे ।
स्वास्थ्य निर्देशनालयका लुम्बिनीका निर्देशक डा. विनोद गिरि बर्थिङ सेन्टरको बेड बढाउदै लैजान सुझाव दिदै  गुणस्तरीय सेवामा ध्यान दिन सुझाव दिए  ।
बाल रोग विभाग प्रमुख डाक्टर  किरणमणि पौडेलले गुणस्तरीय सेवामा आफूहरुको विशेष ध्यान जाने धारणा राखे । अस्पतालका प्रसूति विभाग प्रमुख डाक्टर भक्त बस्यल (बिबि)राउत ले सुविधा थप्दा जनशक्ति थपिने भएकोले यसले सुरक्षित डेलिभरीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासकीय अधिकृत राजन केसीले पनि अस्पतालका बारेमा धारणा राखेका थिए ।