२०८१ श्रावण १२

नवीनमा सिभिल इन्जिनियरिङ समूहको नतिजा प्रकाशन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ६, आईतवार १२:२५ गते

बुटवल ६ फागुन ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलमा सिभिल इन्जिनियरिङ समूहको नतिजा प्रकाशन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव थानेश्वर ज्ञवालीले शिक्षण, सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थी दुवैले सैद्धान्तिक तर्फ बढी ध्यान दिँदा श्रम बजारमा खुट्टा धरमराउने भएकोले प्रयोगात्मक कार्यमा बढी ध्यान दिन आग्रह गरे । उनले छात्रवृत्तिका परीक्षा र लोकसेवाका परीक्षामा नवीनका विद्यार्थीहरूले अब्बलता प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै नवीनको रचनात्मक कार्यहरूमा नवीनको संलग्नता रहेको र नवीनबाट सिकेका कुरा अन्य विद्यालयहरुले पनि शेयर गर्ने गरेकोले आफूले नयाँ अभ्यासहरु नवीनबाट पनि ग्रहण गरेकोले एउटा गुरुकै रुपमा लिएको धारणा व्यक्त गरे ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू भरत कुमार रसाली, कमला भण्डारी ज्ञवाली, राजेन्द्र ढकाल, सिभिल इन्जिनियररिङ इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियररिङ संयोजक ई. बिमल अर्याल, ई. साम्व पन्थी र राजन अधिकारीलगायतले धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका भौतिक, शैक्षिक,आर्थिक, व्यवस्थापकीय पक्ष र भावी योजनाहरूका बारेमा धारणा राखेका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङमा उत्कृष्ट नतिजा ल्याउने प्रविन अधिकारी, विशाल पोखरेल, अभिषेक कार्कीलाई नगद पुरस्कारबाट र कक्षामा प्रथम द्वितीय र तृतीय भएका कक्षा १२ का विद्यार्थीहरु प्रविन अधिकारी, विशाल पोखरेल र रमा थामी कक्षा ११ का अभिषेक कार्की, हेमन्त घिमिरे र आकृति ढेंगालाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा सिभिल इन्जिनियरिङ समूह कक्षा १२ का विद्यार्थी प्रविन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।