२०८१ श्रावण १२

लुम्बिनी बौद्ध विश्वविद्यालयका आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ७, सोमबार १०:५२ गते

बुटवल ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड प्रदान गरे । विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीम प्रसाद सुवेदी नेतृत्वको जुरी समितिले उत्कृष्ट अवार्डका लागि विश्वविद्यालयहरुका पदाधिकारीहरुको कार्य मूल्यांकन गरेको थियो । मूल्यांकनमा डा. आचार्य उत्कृष्ट रजिष्टार बनेको आयोजक कलेज रिर्डसका प्रमुख कार्यकारी निर्देशक जितेन्द्र घिमिरेले जानकारी दिए ।
उपकुलपतितर्फ सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले अवार्ड प्राप्त गरेका छन् । त्यस्तै प्रोमिसिंग उपकुलति अवार्डबाट काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा सम्मानित भए । त्यस्तै प्रोमेसिंग रजिष्टारको अवार्ड पोखरा विश्वविद्यालयका रजिष्टार डा. दीपक बहादुर भण्डारीले प्राप्त गरे ।
अवार्ड प्रदानका लागि छनौट गर्न १३ वटा सूचकहरु बनाइएको थियो । विश्वविद्यालयको शैक्षिक, भौतिक विकास, आर्थिक पारदर्शिता र शुसासनसहितका सूचकहरुका आधारमा उत्कृष्टताको अवार्ड प्रदान गरिएको हो ।