२०८१ पुष ६

गौंथलीको चित्कार
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १२, बुधबार १३:२२ गते

हरि पथिक
स्वतन्त्र पंक्षी झैं बिचरण गर्थी
लेक–बेंसी , पाखा–पखेरा चाहार्थी
बैंसालु उन्मादमा लहरिंदा लहरिंदै
रामुको कथित प्रेमालिंगनमा
बशिभूत भई गौंथली
माया पिरतीको बाढीमा बहँदै–बहँदै
अन्धकार रात ढल्नासाथ झिस्मिसेमै
सुटुक्क घरबाट भागेर निस्की गौंथली
रामुकै बिश्वाशको खास्टो ओढेर
स्वप्नील कल्पनामै रोमान्चित भई ऊ
आफ्नो सुकोमल भाबुकताको पछ्यौरीभित्र
फगत् त्यो कपटपूर्ण विश्वाशको आबरणमा
बासना र प्रेमको बिभेद बुझिन
कुटिल चालको – जाल झेलको
बिचरीले किंचित आभास पाइन ।
एकाएक ऊ मुग्लानको बिरानो शहरमा
आफ्ना प्रेमिल रहरहरू , वरिपरी घुमिरही
रामुसँगै हेलिएर रंगीन सपनाका लहरहरूमा
लहरिंदै–लहरिंदै स्वयंलाई हुत्याइदिन्छे
एक मरुभूमि तुल्य वगरमा
होटेलको त्यो बसाई !
दुई दिनको त्यो प्रेमालाप !!
लगत्तै गुमेको होश पश्चात् –
एकाएक उस्ले आफूलाई अकेली पाउँछे
परदेशको अर्को शहरबीच
एक भयानक काल कोठरीमा !
सारा सपना चकनाचुर !
फुटिसकेछन् ऐना सरी !!
मनमा डर–त्राशको पहिरो चल्छ
जब ऊ ब्युँझन्छे भ्रमजालबाट
चित्कार छुट्छ – “ गुहार ! बचाऊ !!
कहाँ आएँ ? लौन बचाऊ ! “
उस्का सामू खड़ा छ अनुहार
एक भुसतिघ्रे नौलो युबक
म्वाइ खाएको अभिनय गर्दै –
हाम्री साहुनीको मायाजालमा
“ फसिसक्यौ ए कान्छी “ भन्दै ।
“ तिम्रो रामु त हिजो बिहानै –
हिसाब् किताब सबै मिलाई
आफ्नो बाटो लाग्यो बहिनी ! “
“ आम्मै , मार्यो , लौन नि हजूर् “
गौंथलीको त्यो आर्तनाद !!

                हालः बुटवल